

थपियो सुरक्षा चुनौति, तराईमा गोइत समूहको ‘हिंसात्मक पुर्नोदय’
लहानस्थित मालपोतमा विस्फोट भएको स्थानमा जनतान्त्रिकको पर्चा भेटियो

काठमाडौं– सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार ७ जना घाइते हुनेगरी भएको कुकर बम विस्फोट प्रकरणमा जोडिएको छ जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा।
प्रहरीका अनुसार विस्फोट भएको स्थानमा उक्त समूहको पर्चा फेला परेको छ। योसँगै बीचको समय मौन रहेको हिंसात्मक गतिविधिले स्थापित उक्त समूहको पुर्नोदय भएको ठान्छन् सर्वसाधारण।
नेपाल–भारत सीमावर्ती क्षेत्र र खासगरी पूर्वी तराईमा उक्त समूहले राजनीतिक संक्रमणका बेला जगजगी बनाएको थियो।
मालपोतमा भएको विष्फोटमा परी सात जना घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ।
को हुन् गोइत?
हिंसात्मक आन्दोलनमा रहेका बेला तत्कालिन नेकपा माओवादीको मधेस मुक्ति मोर्चामा रहेका गोइत शान्ति सम्झौता हुनासाथ जनतान्त्रिक मुक्ति मोर्चामा सक्रिय भए।
उनले मधेस क्षेत्रमा हिंसात्मक गतिविधि सुरु गरे। सीमावर्ती जिल्ला अरअरियामा बसेर उनले हिंसात्मक धन्दालाई राजनीतिकरण गर्न थाले।
स्वतन्त्र तराई अर्थात तराईलाई अलग देश बनाउने भन्दै गोइतले १० साउन २०६१ भूमिगत भएका थिए ।
सप्तरी घर भएका गोइत पञ्चायती शासन व्यववस्था विरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । त्यसपछि किसान आन्दोलन, सर्वहारामुक्ति आन्दोलन र माओवादी जनयुद्ध समेत लडेका थिए।
गोइत नेपालको त्रिभुवन विश्वविद्यालयमा कुनै बेला अध्यापन गराउने र सञ्चालक समितिमा समेत रहेका व्यक्ति हुन्।
सरकारले हिंसात्मक गतिविधि गरिरहेका नेकपा नेक्रविक्रम चन्दलाई मूलधारमा ल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति स्थापना भएको घोषणा गरेका थिए। त्यसअघि मधेस क्षेत्रमा पृथकतावादी आन्दोलन चलाएका सीके राउतलाई मूलधारमा ल्याएपछि जनमत पार्टीमा सक्रिय छन्।

