

शिक्षक महासंघको अध्यक्षमा सुवेदी

काठमाडाैं- नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा ७५ सदस्यीय नयाँ नेतृत्व घोषणा भएको छ । सुवेदी यसअघि महासंघको महासचिव थिए ।
यही वैशाख १० गतेदेखि सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि नयाँ नेतृत्व घोषणामा विलम्ब भएको थियो । महासंघको एक मुख्य समूह नेपाल राष्ट्रिय शिक्षक संगठनले महाधिवेशनमा भाग नलिएपछि विवाद भएको हो ।
विधानविपरीत एकपक्षीय ढंगले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरूले राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै संगठनले भाग लिएको थिएन । सहमति जुट्न नसकेपछि संगठनको कोटामा महासचिवलगायत ११ पद खाली राखेर महासंघको नयाँ नेतृत्व चयन गरिएको र संगठनलाई सहमतिमा ल्याउन वार्ता समिति गठन गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

