

ग्याल्बो ल्होछार सबैका लागि प्रेरणा बनोस् : प्रदेश प्रमुख ‘प्यासी’

विराटनगर – शेर्पा समुदायको महान चाड ग्याल्बो ल्होछार आज (आइतबार) परेको छ। पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने क्रम जारी छ।
यसै अवसरमा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त ग्याल्बो ल्होछारले सबैमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्। एक शुभकामना सन्देश जारी गर्दै उनले ग्याल्बो ल्होछारले नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवम् आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्र्वद्धन तथा विकास गर्ने विश्वास लिएका छन्।
ग्याल्बो ल्होछार पर्व भव्य र सभ्य रुपमा सफल होस् भन्ने अपेक्षासहितको शुभकामना पनि प्रदेश प्रमुख अधिकारीले दिएका छन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगति र उन्नतिको कामना गरे।
आफन्त भेटघाट, साँस्कृतिक मनोरञ्जन तथा धार्मिक आस्था प्रवर्धन र सामूहिक हर्षबढाइँका साथ शुभकामना आदान प्रदान गर्ने परम्पराले आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने भएकाले शेर्पा समुदायले मनाउने यस पर्वलाई महत्वका साथ हेरिने उनको भनाइ छ। बहुलजाति, बहुलभाषा, बहुसंस्कृति, बहुधार्मिक विशेषताले युक्त सुन्दर देश नेपालका राष्ट्रप्रेमी शेर्पा समुदाय एकता र राष्ट्रिय स्वाभिमानका प्रतिक भएको अधिकारीले उल्लेख गरेका छन्।

