एमाले कमजोर भयो भने देश पनि कमजोर हुन्छ : उपाध्यक्ष पौडेल


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी एकल बहुमतसहित सरकार बनाउने स्थानमा पुगेमात्रै संविधानको रक्षा र यसले निर्दिष्ट गरेको दिशामा देशलाई अघि बढाउन सकिने बताएका छन् ।

नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले एमाले कमजोर भयो भने देश पनि कमजोर हुने बताए । ‘संविधानको रक्षा, कार्यान्वयन र समाजवादको बाटोमा अघि बढ्ने प्रश्न नेकपा एमालेसँग जोडिएको छ । नेकपा एमालेको भविष्य सिङ्गो राष्ट्रको भविष्यसँग जोडिएको छ’, पौडेलले भने ।

उनले दुनियाँका संविधानसँग नेपालको संविधान तुलना गर्दा उत्कृष्ट भएको बताउँदै संविधानले निर्देश गरेको दिशातर्फ समाजलाई लैजानुपर्नेमा जोड दिए । नेकपा एमालेलाई भित्तोमा पुर्‍याउने र माटोमा मिलाउने उद्घोषका साथ आक्रमण गरिएको भए पनि एमालेले त्यसलाई पराजित गरेको उपाध्यक्ष पौडेलको भनाइ थियो ।

२०७९ सालको निर्वाचनपछि नेकपा एमालेले राष्ट्रिय राजनीतिको निकासको लागि केही पहल गरेको तर, एमालेलाई दुई महिनाको बीचमै सरकाबाट हटाउने काम भएको उनले बताए ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहालले अनुभूत गरेर त्यो गठबन्धन भत्काएर नेकपा एमालेलगायत सम्मिलित सरकार बनेको उनको भनाइ छ ।

उनले एमाले-काँग्रेस मिलेर सरकार बनाउन नहुनेसमेत बताए । काँग्रेस र एमालेको एजेण्डा पनि नमिल्ने भएकोले काँग्रेस सहकार्य हुन नसक्ने उनले स्पष्ट पारे ।

‘दुई वटा प्रमुख पार्टी मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर हुन्छ, काँग्रेसले पनि प्रतिपक्षमा बसेर सिकोस्’, उनले भने, ‘२०८४ सम्म अहिलेकै सरकार जान्छ र २०८४ को निर्वाचनपछि नेकपा एमाले एकल बहुमत प्राप्त पार्टी बन्नेछ । नेकपा एमालेको बहुमतको सरकार राष्ट्रको लागि चाहिएको छ, जनताको लागि चाहिएको छ ।’

प्रतिक्रिया