नयाँ जनादेशबाट पाँच वर्षका लागि अब कांग्रेस आउनु पर्छ : गगन थापा


काठमाडौँ – कांग्रेस नेता गगन थापाले अबको सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाल शिक्षक संघ वाग्मती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले देशलाई निर्वाचनमा लगेर नयाँ जनादेशबाट पाँच वर्षका लागि कांग्रेस आउनुपर्ने बताए ।

सम्बोधनकै क्रममा नेता थापाले कांग्रेसले सरकारको नेतृत्व गरेर प्रधानमन्त्री ओलीले संविधानमा पारेको भ्वाङलाई टाल्नेसमेत बताएका छन् ।

नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने म्यान्डेट पाएको भए पनि संकटको बेलामा कांग्रेसले सम्हाल्नुपर्ने अवस्था आएको उनको भनाइ छ । सर्वोच्च अदालतको फैसला नेकपाले स्वीकार गरिसकेपछि नेकपाले सरकार चलाउन पाएको म्यान्डेट सकिएको उल्लेख गर्दै नेता थापाले संसद्‌मा सरकार चलाउने म्याण्डेट पाएको पार्टी नरहेको टिप्पणी गरे । कांग्रेसले वर्तमान अवस्थालाई सम्हालेर निकास दिनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कायमै राखे राज्यका सम्पूर्ण संयन्त्रलाई दबाब र प्रभावमा पारेर कब्जा गर्ने र प्रजातन्त्रलाई कमजोर बनाउने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीलाई शासन सत्ता दिइराख्नाले नेपालमा नाम मात्रैको चुनाव गराउने नेता थापाले बताए ।

प्रतिक्रिया