सन्दीपले आफूमाथि षड्यन्त्र गर्नेको नाम सार्वजनिक गर्ने


काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफूमाथि ‘षड्यन्त्र’ भएको बताउँदै षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्ने बताएका छन् ।

बलात्कार मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट दोषी ठहर भएका उनले बुधबार राति सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो पटक खेल्न लागेको टी–२० विश्वकपका लागि १५ सदस्यीय स्क्वाड घोषणा गरे लगतै उनले लगातार स्टाटस लेखिरहेका छन् ।

उनले टाेली घाेषणाा भएपछि दुई वटा स्टाटस लेखेका थिए भने अन्तिम स्टाटस राति १२ बजे सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका थिए । लामो समयपछि पहिलो पोस्टमा इमोजी मात्र पोस्ट गरे ।

दोस्रो स्टाटसमा आफू षड्यन्त्रको शिकार भएको बताएका छन् । ‘मैले लामो समय पोस्ट गर्नबाट आफूलाई टाढा राखें। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन।  यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ’, उनले लेखेका छन्।

तेस्रो स्टाटसमा भने यस षड्यन्त्रको भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन् ।’

जिल्लाको फैसलामाथि उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ।

प्रतिक्रिया