

कांग्रेस केन्द्रीय गणेश लामासहितको टोलीद्वारा रोशी अग्निपीडितलाई राहत हस्तान्तरण

काभ्रेपलाञ्चोक – जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्री वितरण गरिएको हो ।
तरुण दलका केन्द्रीय सदस्य रोशन पाण्डेको पहलमा केन्द्रीय सदस्य गणेश लामाले आगलागी पीडितलाई २ बोरा चामल, दाल, तेल, नुन, गेडागुडीलगायतका दैनिक उपभोग्य सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
साथै आगलागी पीडितलाई कांग्रेस जिल्ला सभापति एवं बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले पनि प्रत्येक घर धुरीलाई २ बोराका दरले चामल प्रदान गरेका थिए ।
जिल्ला समितिले बुधबार गाउँपालिका कार्यालय, नेपाल रेडक्रस सोसाइटी र उद्योग वाणिज्य सङ्घद्वारा उपलब्ध राहत सामग्री वितरण गरेको छ । गाउँ नजिकको सामुदायिक वनमा लागेको डढेलो हुरीबतासका कारण बस्तीमा फैलिएपछि सानोपोटा गाउँका १५ घर जलेका थिए ।
गाउँपालिकाले प्रतिपरिवार दुई बोरा चामल, त्रिपाल, नुन, तेल र दाल, रेडक्रसले भाडाकुँडा, कम्बललगायत सामग्री तथा सङ्घले पीडितलाई प्रतिपरिवार एक बोरा चामल, दाल एक किलो, खानेतेल एक लिटर, नुन एक किलो प्रदान गरेको छ ।
विपद् व्यवस्थापन समितिले पीडितलाई प्रतिपरिवार रु पाँच हजारका दरले नगद पनि उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारबाट पाउने राहतमध्ये हाललाई रु पाँच हजार दिइएको र बाँकी रु दश हजार केही दिनमै उपलब्ध गराइने बताइन् ।

