आईपीएलः घरेलु मैदानमा पञ्जाबसँग चेन्नईले ब्यहोर्यो हार


चेन्नई – इन्डियन प्रियिमर लिग (आईपीएल) को ४९ औँ खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई उसैको घरेलु मैदानमा हराएको छ ।

जितका लागि १ सय ६३ रनको लक्ष्य पाएको पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो । जोनी बेयर्स्टो र राइली रुसोले विस्फोटक ब्याटिङ गर्दै टोलीका लागि जितको आधार तय गरे ।

बेयर्स्टोले ३० बलमा सर्वाधिक ४६ रन बनाए । उनले यस क्रममा ७ चौका र १ छक्का हिर्काए । त्यस्तै, रुसोले २३ बलमा ४३ बनाउने क्रममा ५ चौका र २ छक्का प्रहार गरे । शशांक सिंह र कप्तान साम करनले नटआउट रहँदै क्रमशः २५ र २६ रन बनाएर टोलीलाई जितसम्म डोर्‍याए ।

यसअघि, पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ४८ बलमा ६२ रन बनाए । उनले ५ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, समीर रिज्वीले २१, मोइन अलीले १५ तथा महेन्द्रसिंह धोनीले १४ रनको योगदान दिए । पञ्जाबका लागि हरप्रित ब्रार र राहुल चहरले शानदार बलिङ गर्दै २–२ विकेट लिए । ब्रारले ४ ओभरमा मात्र १७ रन खर्चिए भने चहरले पनि १६ रनमात्र दिए ।

लिगमा चेन्नईमाथि पञ्जाबको यो लगातार पाँचौँ जित हो। टोलीले चालू सिजनमा पहिलो पटक लगातार दोस्रो खेल जितेको हो । यो जितसँगै पञ्जाबले प्लेअफमा पुग्ने आशा कायम राखेको छ । १० खेलपछि १० अङ्क बटुल्दै चेन्नई अङ्क तालिकामा चौथो स्थानमा रहेको छ । पञ्जाब समान खेलबाट ८ अङ्कसहित सातौँ स्थानमा छ ।

 

प्रतिक्रिया