

भक्तपुरमा इनार खन्दा निसासिएर काका–भतिजको मृत्यु

भक्तपुर – भक्तपुरको चाँगुनारायणमा आज (बुधबार) इनार खन्ने क्रममा ग्यास निस्किएर निसासिँदा दुई जनाको ज्यान गएको छ ।
रामेछाप घर भई २ वर्षदेखि सोही ठाउँमा जग्गा भाडामा लिएर टहरोमा बस्दै आएका २८ वर्षका सन्देश सुनुवार र उनका काका ४६ वर्षका दीपक सुनुवारको मृत्यु भएको हो ।
जिल्लाको चाँगुनारायण नगरपालिका ४ खनालचोकस्थित सेतोमाइक्रो पार्क नजिकै जग्गा भाडामा लिएर बसेका उनीहरू सोही जग्गामा इनार खन्न थालेका थिए । इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्किएर अचेत अवस्थामा उद्धार गरिएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।
खबर प्राप्त हुनासाथ विपद् व्यवस्थापन महाशाखा, काठमाडौँबाट २५ जनासहित जिल्ला परिसर भक्तपुरबाट ३० जना र सशस्त्र प्रहरी बलबाट ९ जनाको टोली उद्धारमा खटिएको थियो ।
दुवै जनालाई उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै क्रममा दिउँसो उनीहरूको मृत्यु भएको भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए । घटना आज दिउँसो १:२१ बजे भएको थियो । २: ४० बजे उनीहरूको उद्धार गरिएकामा ३स्२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

