सुहाङले थामे सुवास नेम्बाङको विरासत, इलाममा कुन उम्मेदवारले कति मत ल्याए ?


काठमाडौं — प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् ।

उनले यसअघि आफ्ना पिता सुवास नेम्बाङको विरासतलाई कायम राखेका छन् । बुवा सुवासको निधनपछि भएको उपनिर्वाचनमा उम्मेदवारी दिएका सुहाङले बुवाकै प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गर्दै संसद प्रवेश गर्ने भएका हुन् ।

सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए । कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए ।

निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए ।

यससँगै रास्वपा उम्मेदवारको जमानत जफत भएको छ । इलाममा सुहाङबाहेक डम्बर र थेगिमले जमानत जोगाउन सफल भएका छन् ।

इलाम निर्वाचनमा १९ जना उम्मेदवार रहेकोमा ३ जनाबाहेक सबैको जमानत जफत भएको छ । एकीकृत समाजवादीका उम्मेदवारले जम्मा ४०८ मत ल्याउँदा राप्रपा उम्मेदवारले ४०४ मत मात्र ल्याएका छन् । त्यस्तै जनमत पार्टीका उम्मेदवारले ११८ मत ल्याएको इलाममा स्वतन्त्र उम्मेदवार उम्मेदवार योगेन्द्र गुरुङले सबैभन्दा कम ४ मत मात्रै पाएका छन् ।

 

प्रतिक्रिया