

१५ हजार घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका २ का वडाध्यक्षविरुद्ध मुद्दा दायर गरेको छ । वडाध्यक्ष उजेर अलीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो ।
उनलाई अख्तियारले गत चैत १८ गते १५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो । सेवाग्राहीको घरबाटो सिफारिस दिने नाममा घुस मागेको सूचनाका आधारमा खटिएको टोलीले वडाध्यक्ष अलीलाई पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।
पक्राउ परेका अलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय तथा बिगो जरिवाना माग गरिएकाे छ ।

