नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर


काठमाडौं- अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को-अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

सम्झौताअनुसार चीनले वीपी कोइराला मेमोरियल क्यान्स अस्पतालमा बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ ।

त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा छ ।

कार्यक्रममा अर्थमन्त्री पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा चीनलाई धन्यवाद दिए ।

नेपाल र चीनबीच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पुनले एकअर्काका आकांक्षा एवम् संवेदनशीलतालाई सम्मान गर्दै इमान्दारिताका साथ आपसी सहयोग र मित्रता अगाडि बढाउँदै आएको उल्लेख गरे ।

उनले राष्ट्रपति सी जिन फिङले ५ वर्षअघि गरेको नेपाल भ्रमण तथा आफ्ना प्रधानमन्त्री पुष्पकमल दाहाल प्राचण्डको गत असोजमा गरेको चीन भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाइमा पुर्‍याएको बताए । उनले ती दुवै उच्चस्तरीय भ्रममणमा भएका द्विपक्षीय सम्झौतामध्ये कार्यान्यवन हुन बाँकी भएकाको कार्यान्वयनमा जोड दिए ।

 

प्रतिक्रिया