प्रेम सम्बन्धले चरम रुप लिँदा धनुषामा झडप, ९ सेल अश्रुग्यास प्रहार


जनकपुरधाम- धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो ।

एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ९ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।

उक्त प्रदर्शनका क्रममा स्थानीयले ढुंगामुढा गर्दा नेपाल प्रहरीका २ र सशस्त्र प्रहरीका १ जना जवान घाइते भएका छन् ।

उक्त गाउँबाट प्रेम सम्बन्धमा रहेका भनिएका दुईजना युवती र दुईजना युवक एकसाथ भागेका थिए ।  उमेर नै नपुगेका आफ्ना छोरीहरूलाई भगाइएको भन्दै युवती पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए ।

प्रतिक्रिया