गर्मी बढेपछि तराईमा बेहाल, अस्पतालमा बिरामीको चाप


काठमाडाैं- अत्यधिक गर्मी बढेपछि तराई–मधेसको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अधिकतम तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो ।

गर्मीका कारण दिउँसो तीर मुख्य बजार सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यासमेत घट्न थालेको छ । अहिले बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई अझ बढी समस्या भएको चिकित्सकको भनाइ छ ।

प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा कृष्णदेव दासले अहिले स्वास्थ्य संस्थामा घाउ, खटिरा, टाइफाइड, ज्वरो, झाडापखालालगायत रोगका बिरामीको चाप बढ्न थालेको बताए । डा दासले भने, “गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ । यसले दिउँसोका समयमा दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई समस्या हुने देखिन्छ । त्यसैले सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्न जरुरी छ ।”

अहिले तातो हावाका कारण टाउको दुख्ने, शरीर शिथिल हुने, घाँटी दुख्ने, आँखा पोल्नेजस्ता स्वास्थ्य समस्यासमेत बढ्दै गएका छन् । यस्तै, तातो हावा चल्दा तरकारी, मकैलगायतका बालीनालीसमेत सुक्न थालेका छन् ।

क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका रामदेव बनरैतले तातो हावाहुरीका कारण मौसमी फल आँप, लिची र लहरे तरकारी खेती प्रभावित भएका बताए । गर्मीले जनजीवन प्रभावित भए पनि चिसो पेय पदार्थको माग भने बढेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि आज सार्वजनिक सूचना जारी गरेर विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको तराई भूभागका थोरै स्थानमा बिगत दूई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भू–भागको थोरै स्थानमा बिगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको थियो ।

महाशाखाले आगामी केही दिनसम्म तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले यही वैशाख १० गतेदेखि १४ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।

 

प्रतिक्रिया