युक्रेनसँगको युद्धमा रुसका ५० हजारभन्दा बढी सैनिकको मृत्यु भएकाे दाबी


काठमाडौं- युक्रेनविरुद्धको युद्धका क्रममा ५० हजार भन्दा धेरै रुसी सैनिकको मृत्यु भएको छ ।

युद्धको दोस्रो वर्षमा फ्रन्ट लाइनमा मस्कोले रणनीति परिवर्तन गर्दै ‘मिट ग्राइन्डर स्ट्राटिजी’ अपनाएको थियो । बीबीसीका अनुसार सो रणनीतिपश्चात मृत्यु हुनेको संख्या पहिलेभन्दा २५ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

सन २०२२ को फेब्रुअरीदेखि बीबीसी रसिया, स्वतन्त्र मिडिया ग्रुप मिडियाजोन र स्वयमसेवकले मृत्युको तथ्याङ्क राखेका छन् । कब्रस्तानमा भएका नयाँ चिहानबाट धेरै सैनिकको नाम पाउन सहज भएको थियो।

खुला स्रोतलगायत आधिकारिक प्रतिवेदन, पत्रपत्रिका र सामाजिक संजाललगायतबाट प्राप्त भएको जानकारीमार्फत बीबीसीले तथ्याङ्क सार्वजनिक गरेको हो ।

युद्धको दोस्रो वर्षमा २७ हजार ३ सय रुसी सैनिक मारिएका छन् । सो तथ्याङ्कले क्षेत्रीय प्रलोभनका कारण मानव जीवनमा पुर्याएको संकटलाई दर्शाएको छ। रुसले भने यो टिपणीलाई अस्वीकार गरेको छ।

सन् २०२२ को सेप्टेम्बरमा मस्कोले औपचारिक रुपमा मृत्युको तथ्याङ्क सार्वजनिक गरेको थियो । तर, सो तथ्याङ्कभन्दा ८ गुणा बढि अर्थात ५० हजार नाघेको बीबीसीको तथ्याङ्कले देखाएको छ । मृत्यु हुनेको वास्तविक संख्या भने अझै निकै धेरै भएको अनुमान गरिएको छ ।

-बीबीसी

प्रतिक्रिया