काठमाडौंका सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाहीको चेतावनी


काठमाडौं-  काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि  ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले कारबाहीको कठोर निर्णय लिएको महानगरका उपप्रमुख सुनिता डंगोलले बताइन् ।

सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा जुनसुकै प्रकृतिको निर्माणकार्य सुरु गर्नुअघि नै निर्माणकार्य गर्ने व्यक्ति, निजी क्षेत्र, संघसंस्था, कम्पनी, जुनसुकै निकाय वा ठेक्का प्राप्त गर्ने व्यक्तिले अनिवार्य महानगरबाट स्वीकृति लिनुपर्ने उनले बताइन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा वातावरण संरक्षण ऐन, २०७६ तथा निर्माणसम्बद्ध कानुन र मापदण्डबमोजिम कारबाही हुने महानगरले शनिबार जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । “यही वैशाख ५ गतेदेखि तोकिएबमोजिमको काम नगर्नेलाई प्रचलित कानुनी व्यवस्थाअनुसार कडा कारबाही गर्नेछौँ”, उपप्रमुख डंगोलले भनिन् ।

प्रतिक्रिया