

उपचारका लागि हिँडेरै अस्पताल गएकी रिजुकाको मृत्यु भएपछि…

काठमाडौं- हिँडेरै अस्पताल पुगेकी एक युवतीको मृत्यु भएपछि सुर्खेतकाे प्रदेश अस्पतालमा तनाव उत्पन्न भएको छ ।
दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामी पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत पुगेकी थिइन् ।
उनी सामान्य चेकजाँचका लागि वीरेन्द्रनगरको एक निजी अस्पतालमा पुगेकी थिइन् । त्यहाँ उनकाे पाठेघरमा केही समस्या देखियो । त्यसपछि आफैं हिँडेर उनी शकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल गइन् । बिहीबार बिहानै उनी अस्पताल भर्ना भइन् ।
अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसूति गराउँदा पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकले जानकारी दिए । अप्रेसन गरेर पाठेघर सफा गर्दैगर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको परिवारका सदस्यले बताएका छन् ।
अस्पतालले दिउँसो तीन बजेतिर मृत घोषणा गरेको थियो। परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरिए आफन्तको भनाइ छ । डाक्टरहरूको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै आफन्तहरूले आन्दोलन गरिरहेका छन् ।
शुक्रबार बिहान १० बजेदेखि चरणबद्ध आन्दोलनको कार्यक्रम अगाडि बढाइने तयारी आफन्तहरूले गरेका छन् । प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

