

ढुंगाले टाउकोमा हानेर बुवाको हत्या

खाँदबारी- संखुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाउँमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ ।
सोमबार साँझ ५० वर्षीय युवराज राई र उनका छोरा २८ वर्षीय सुमन राईबीच सामान्य घरायसी विषयमा वादविवाद हुँदा सुमन राईले शरीरको विभिन्न भागमा कुटपिट तथा ढुंगाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भीर घाइते भएका थिए ।
घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवसभाले जनाएको छ ।

