कखरा सिकेको विद्यालयमै प्रधानाध्यापक बनिन् शोभा


वेथानचोक (काभ्रे) – काभ्रेको बेथानचोक गाउँपालिका–६ भुग्देउस्थित सरस्वती माध्यमिक विद्यालयको  प्रधानाध्यापकमा शोभा तामाङ नियुक्त भएकी छिन् ।

साविक भुग्देउ महांकालमा पिता राम कुमार गोले र माता माईली तामाङको कोखबाट कान्छि छोरीको रूपमा जन्मिएकी शोभाका एक दिदी र एक दाई छन् । २०४४ सालमा जन्मिएकी शोभाको शिक्षक प्रेम कुमार तामाङसँग वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।

उनी २०७६ आयोगबाट विज्ञान स्थायी शिक्षिकामा मावि तहका लागि नियुक्त भएकी हुन् । उनै शोभालाई विद्यालय व्यवस्थापन समितिको चैत्र २४ गते बसेको बैठकले प्रधानाध्यापकको जिम्मेवारी दिएपछि आफूले अक्षर सुरु गरेको विद्यालयको नेतृत्व गर्न पुगिन् ।

सोही विद्यालयबाट क ख सिक्दै प्राथमिक, निम्न माध्यमिक तह र माध्यमिक तहको परिक्षा एसएलसी २०६० सालमा उत्तिर्ण गरेकी शोभाले बुबा रामकुमार गोले, आमा, दाई र दिदीहरूको साथ, सहयोग र प्रेरणाले विभिन्न कठिनाई र संघर्षबीच उनले काठमाडौंस्थित अमृत साइन्स क्याम्पसबाट प्रवीणता प्रमाण पत्र तह (आईएस्सी) र स्नातक तह (बिएस्सी) उतिर्ण गरिन् ।

त्यसपछि भने उनले स्नातकोत्तरका लागि काठमाडौंस्थित प्रदर्शनीमार्गमा रहेको तत्कालिन रत्नराज्य लक्ष्मी क्याम्पसबाट स्नातकोत्तर तह गरिन् ।

विद्यालयको नेतृत्वको जिम्मेवारी पाएकी शोभाले आफूले पाएको अवसरलाई उपयोग गर्दै विद्यालयको सकारात्मक परिवर्तनमा आफू सक्रिय रहने बताएकी छिन् । विद्यालयको सरोकारवालासँगको सहकार्य र समन्वयमा आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै लैजाने बताएकी छिन् ।

वेथानचोक गाउँपालिकाको १० माध्यमिक विद्यालयमा एक मात्र महिला प्रधानाध्यापक भएकी शोभा संम्भवत वेथानचोक भरिको अहिलेसम्मकै पहिलो महिला प्रधानाध्यापक भएकोमा बधाई तथा शुभकामनाको ओइरो नै लागेको छ ।

प्रतिक्रिया