

सत्ता समीकरणमा जसपाको बार्गेनिङ, एमालेसँग वार्ता सकेपछि माओवादी केन्द्रसँग बैठक

काठमाडौं– जनता समाजवादी पार्टीले सत्ता समीकरणका लागि प्रतिनिधि सभाको ठूलो दल नेकपा एमाले र तेस्रो ठूलो नेकपा माओवादी केन्द्रसँग बार्गेनिङ थालेको छ।
बुधबार बिहानी एमालेका नेतासँग भेटेका जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतोले अपरान्ह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
रेशम चौधरीको रिहाई, मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्तालगायतका विषयलाई बार्गेनिङको मुख्य कारण देखाइए पनि असलमा मन्त्रालयको बाँडफाँटको विषयलाई केन्द्रमा राखिएको छ।
एमालेसँग भएको कुराकानीका विषयमा ठाकुर र महतोले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग राखेका छन्। उता प्रचण्डले भने जनता समाजवादीका नेता डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको विषय सतहमा आएको थियो।

