

‘कवाडीहरुको कारखानामा डोजर चल्छ भने महानगरमा प्रभु साहको स्काभेटर लाग्छ’

काठमाडौं- आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले काठमाडौंमा सुकुम्बासी र कवाड व्यवसायीहरुको सुरक्षाको प्रत्याभूति नगराईए काठमाडौं महानगरमा आफ्नो स्काभेटर चलाउने चेतावनी दिएका छन् । जनआन्दोलन दिवसको अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित बृहत्त जनप्रदर्शनसहितको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा साहले काठमाडौं महानगरका मेयर बालेन शाह लक्षित यस्तो चूनौति दिएका हुन् ।
बालेनले सुकुम्बासी र कवाड व्यवसायीहरुमाथि धरपकड गरेपछि प्रभु साहको यस्तो आक्रोश पोखिएको हो । उनले भने,‘प्रधानमन्त्री म भन्न चाहन्छु–सुकुम्वासीको रक्षा हुन्छ कि हुँदैन् । हुँदैन भने प्रभु साह चुप लागेर बस्दैन् । म गृहमन्त्रीलाई सोध्न चाहन्छु–काठमाडौंमा कवाडीहरुको रक्षा हुन्छ कि हुँदैन् । यदि कवाडीहरुको कारखानामा डोजर चल्छ भने महानगरको कार्यालयमा प्रभु साहको स्काभेटर लाग्छ । अब गरिबहरु मात्रै कानून मानेर बस्दैनन् । देशमा राजतन्त्र हटिसकेको छ । ठूलालाई चैन अनि सानालाई ऐन लाग्ने कुरा हुँदैन् । यो उद्घोषसभा हो । यो उपस्थितिले धेरै जवाफ दिईसकेको छ ।’
साहले विगतमा मधेशमा मधेशी र पहाडी जनता भिडाउने शासकहरु अहिले काठमाडौं पसेको र यहाँबाट मधेशी भगाउने काम गर्न खोजेको भन्दै चेतावनी दिए ।

