नेपालको वायुको गुणस्तरमा सुधार हुँदै


काठमाडौँ- विगतका वर्षमा हिउँदे याममा काठमाडौँलगायत मुलुकका प्रमुख सहरमा वायु प्रदूषण बढेको देखिन्थ्यो । विसं २०७७ पुस २० गते काठमाडौँलगायत सहरको वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि वातावरण विभागले घर बाहिर निस्कँदा नागरिकलाई सजगता अपनाउन प्रेस विज्ञप्ति जारी गर्दै अपिल नै गर्नुपरेको थियो ।

तर पछिल्लो केही वर्षयता भने वायुको गुणस्तरमा तुलनात्मक सुधार देखिन थालेको छ । वायुमा मानव स्वास्थ्य र वातावरणलाई नकारात्मक असर पुर्याउने वस्तुहरू तोकिएको सीमाभन्दा बढी मात्रामा मिसिनु नै वायु प्रदूषण हो । वायु प्रदूषण मानवीय र प्राकृतिक दुवै कारणले हुन सक्दछ ।

विभागका अनुसार सन् २०२१ पछि नेपालमा वायुको गुणस्तरमा सुधार देखिएको छ । वायु प्रदूषणका प्रमुख कारक कम हुँदै गएपछि वायुको गुणस्तरमा सुधार देखिएको विभागका सूचना अधिकारी दीपक ज्ञवालीको भनाइ छ । “सन् २०२१ मा वायु प्रदूषण ह्वात्तै बढेको थियो । त्यसपछि वायु प्रदूषण कम हुँदै गएको तथ्याङ्क छ”, उनले भने ।

वायु प्रदूषणका प्रमुख कारणमा सवारीसाधनबाट हुने उत्सर्जन, बाटो र निर्माण गतिविधिबाट निस्कने धुलोका कण, उद्योग तथा इँटाभट्टाबाट हुने उत्सर्जन, जथाभावी फोहर व्यवस्थापन र वन डढेलोलगायत हुन् । ग्रामीण क्षेत्रमा खाना पकाउन बालिने दाउराका कारण घरभित्र वायु प्रदूषण एक समस्याका रूपमा देखापरेको छ । कतिपय अवस्थामा भारतमा बढ्दो विकास निर्माणका गतिविधि र कृषिजन्य सामग्री जलाउँदा उत्सर्जन हुने वायु प्रदूषण नेपालका सिमानामा रहेका सहरसम्म पुग्ने गरेको छ ।

“वायु प्रदूषण उच्च हुने समयमा वर्षा हुँदा, हावा चल्दा, डढेलो लाग्ने बेला वर्षा हुँदा यसले वायु प्रदूषण रोक्न ठूलो योगदान पुग्ने गरेको छ”, सूचना अधिकारी ज्ञवालीले भने, “मुलुकको आर्थिक मन्दीका कारण पूर्वाधार विकासका गतिविधिमा आएको कमीले पनि वायुको गुणस्तरमा योगदान पुगेको आकलन गर्न सकिन्छ ।” तर यसबारेमा यकिन गर्न आवश्यक अध्ययन जरुरी रहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया