

विमानस्थल प्रमुखहरूको हेरफेर, त्रिभुवन विमानस्थल प्रमुखमा निरौला

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न विमानस्थलका प्रमुखहरूको हेरफेर गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा जगन्नाथ निरौला सरुवा भएका छन् । उनी यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको कर्पोरेट निर्देशनालय प्रमुखमा थिए ।
यसै गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा रहेका प्रतापबाबु तिवारीलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा सरुवा गरिएको छ ।
भैरहवा विमानस्थल प्रमुख रहेका हंसराज पाण्डेको प्राधिकरण मुख्यालयमा सरुवा भएको छ । उनलाई निरौलाले हेरिरहेको कर्पोरेट विभाग प्रमुखका रूपमा सरुवा गरिएको हो ।
प्राधिकरणको बुधवारको निर्णय अनुसार उनीहरूको सरुवा भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अनुसार यो १२औँ तहका कर्मचारीको नियमित सरुवा हो ।

