

अरूले घरदैलाे सुरू गरिसक्दा कांग्रेसले अझै छानेन उम्मेदवार, आज कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आजको बैठकले आगामी वैशाख १५ गते हुने इलाम–२ को प्रतिनिधिसभा र बझाङ– १ प्रदेशसभाको उपनिर्वाचनमा पार्टीबाट उठाउने उम्मेदवारको टुंगो लगाउने बुझिएको छ ।
उपनिर्वाचनका लागि अन्य दलहरूले उम्मेदवारको टुंगो लगाइसके पनि कांग्रेस भने छलफलमै रहेको छ ।
एमालेले इलाम र बझाङ दुवै क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेको छ । दुवै उम्मेदवार प्रचार प्रसारमा घरदैलो अभियानमा पुगिसकेका छन् ।
त्यस्तै रास्वपा, एकीकृत समाजवादी, राप्रपालगायतका दलहरुले उम्मेदवारको टुंगो लगाइसकेका छन् । तर कांग्रेस भने अझै अन्योलमै रहेको छ ।

