

वडाध्यक्षद्वारा बोर्डिङ स्कुललाई सामुदायिक विद्यालयमा समायोजन

डोटी- डोटीमा एक वडाध्यक्षले आफ्नो निजी विद्यालय सामुदायिकलाई हस्तान्तरण गरेका छन् ।
जिल्लाको शिखर नगरपालिका–१ गुमगाउँस्थित केदार नमुना बोर्डिङ स्कुललाई सामुदायिक विद्यालयमा समायोजन गरिएको हो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालय सञ्चालक समेत रहेका वडाध्यक्ष दिपक बोगटीले नजिकैको दुर्गादेवी आधारभूत विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
उनले गत आर्थिक वर्षमा शिखर नगरपालिकाबाट प्राप्त वडाको पुरै बजेट ३० लाख रुपैयाँ वडा अन्तर्गतका ५ सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लगानी गरेका थिए । २०७१ सालमा उनी र स्थानीय छत्र जोराको संयुक्त लगानीमा केदार नमुना बोर्डिङ स्कुल स्थापना गरिएको थियो । उक्त विद्यालयमा १ सय ४० विद्यार्थी रहेको दाबी छ ।
बोर्डिङ स्कुलका फर्निचर र सम्पूर्ण शैक्षिक सामग्री समेत दुर्गादेवी आधारभूत विद्यालयलाई हस्तान्तरण गरिसकिएको वडाध्यक्ष बोगटीले बताए । दुर्गादेवी आधारभुतमा कक्षा ८ सम्म पढाइ हुन्छ । त्यहाँ एक सय ४३ विद्यार्थी रहेका छन् । निजी र सामुदायिक विद्यालय नजिकै रहेकाले गाउँका विद्यार्थीहरु समेत बााँडिएका थिए। दुवै विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक र जनप्रतिनिधिहरु बीचको संयुक्त भेलाले दुर्गादेवी आधारभुत विद्यालयको गुणस्तर सुधारमा भूमिका खेल्ने सामूहिक प्रतिबद्धता समेत गरेका छन् ।

