

भिनाजुको एसइई दिने सालो पक्राउ

सर्लाही – सर्लाहीमा आइतबार भिनाजुको नाममा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गरेका एक जना परीक्षार्थी पक्राउ परेका छन् ।
जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका ३ हरकठवा परीक्षा केन्द्रबाट परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी कृष्ण महतो पक्राउ परेका हुन् । महतोले भिनाजु राकेशकुमार महतो (सिम्बोल नं. ०२२१००४५) बाट एसइई अन्तर्गत आइतबार तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षा दिइरहेका थिए ।
महतोलाई परीक्षा अनुगमन समितिले भिनाजुको नाममा परीक्षा दिइरहेका बेला पक्राउ गरेको हो । कृष्णका भिनाजु राकेशकुमार जनकल्याण माध्यमिक विद्यालय धनकौल गाउँपालिका १ धोबिनयाँका विद्यार्थी हुन् ।
राकेशकुमारको अहिलेसम्मका सम्पूर्ण परीक्षा रद्द गरिएको र अब अन्य विषयको परीक्षा समेत दिन नपाउने शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिनुभयो । नक्कली परीक्षार्थी कृष्ण महतोलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ ।
यसैबिच, सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आइतबार तीन जना केन्द्राध्यक्षलाई निष्कासन गरी नयाँ केन्द्राध्यक्ष तोकिएको छ ।
आइतबार तेस्रो दिन सञ्चालन भएको अनिवार्य गणित विषयको परीक्षामा आफ्नो परीक्षा केन्द्रभित्र मर्यादा कायम गर्न नगर्ने तीन जना केन्द्राध्यक्षलाई कारवाही स्वरुप जिम्मेवारीबाट हटाएर नयाँ केन्द्राध्यक्ष नियुक्त गरिएको हो ।
आइतबार साँझ जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको अध्यक्षतामा बसेको समितिको बैठकले गम्हरिया, बेल्ही र हरकठवा माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष फेर्ने निर्णय गरेको शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवाका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिए ।

