शीरको सिन्दुर पुछिएको केही घन्टामै अन्य ६ आफन्तको वियोगमा बबिता…


काठमाडौं – लामो समयकाे क्यान्सरबाट पीडित ३९ वर्षीय छोरालाई पशुपतिको आर्यघाटमा सेलाएर छोरीहरुसहित घर फर्कँदै गरेकी गोरखा नगरपालिका वडा नं. ७ की ७० वर्षीया जुनमाया रोकाले पनि अन्ततः छोरा शंकरकै बाटो रोजिन् ।

आफ्नो शिरको सिन्दुर केही वर्ष अघि गुमाएकी जुनुमायाले कोख गुमाएको केही घन्टामै आफूले पनि ज्यान गुमाउनु पर्ला भनेर पक्कै सोचेकी थिइनन्, तर दैवको लीला भयो त्यस्तै ।

दैव पनि कति निस्ठुरी ? शुक्रबार शीरको सिन्दुर गुमाएकी शंकरकी श्रीमती बबिताले शनिबार बिहानै आफूले जन्म दिएको छोरा दिवस बेपत्ता भएको पीडासँगै परिवार अन्य सदस्यहरु सासु, अमाजु, नन्द र भान्जाका साथै ज्वाईंंलाई पनि गुमाउनु परेको छ ।

दुई दिनको अन्तरमा शीरको सिन्दुर र काखको कोख गुमाएकी बबिता अहिले बेहोस् अवस्थामा छिन् । दुई दिनको बीचमा घरका तीनै पुस्ता गुमाउनुपर्दा रोका परिवारमा परेको बज्रपात कल्पनासम्म पनि गर्न नसकिने खालको छ ।

क्यान्सर रोगबाट पीडित पति शंकर रोकाको निधन भएपछि शुक्रबार साँझ पशुपतिस्थित आर्यघाटबाट अन्तिम बिदाई गरेका रोका परिवार तीन वटा गाडी लिएर १३ दिने पितृकार्यका लागि गोरखा फर्कँदै थिए । तर, त्यो परिवारले गोरखा पुग्नुभन्दा करिब एक घन्टा अगाडि नै अर्को बज्रपात सहनुपर्यो । रोका परिवारका माइला ज्वाईं अर्जुन शिर्मलले चलाएको बा२ज ४१९६ नम्बरको ट्याक्सी इच्छाकामना गाउँपालिका वडा नं. ५ सिमलधारास्थित सडकबाट त्रिशुलीमा बजारिँदा पुरै सवार ६ मध्ये ५ जनाको शव भेटिइसकेको छ भने एक जनाको अवस्था थाहा हुन सकेको छैन ।

घटनामा जुनुमायासँगै जेठी छोरी हरिमाया रोका (उपरकोटी), कान्छी छोरी अञ्जना रोका, नाती आगमन उपरकोटी (हरिमायाको छोरा) र माइला ज्वाईं अर्जुन शिर्मल (ट्याक्सी चालक) को शव भेटिएको छ भने दिवस रोका (शंकर रोकाको छोरा) को अवस्था अज्ञात नै छ ।

दुर्घटना भएको खबर पाउनासाथ घटनास्थलमा पुगेका वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठले हराएका दिवसको खोजी प्रहरीले गरिराखेको जनाएका छन् । उनले कागजपत्रसँगको कुराकानी भन्छन्, ‘प्रहरी र स्थानीयबासीले पनि खोजेका छौं, तर, अब सकुशल भेटिने आशा ज्यादै न्यून छ ।’ उनले यो पीडा रोका परिवारमाथि मात्र परेको नभई सम्पूर्ण वडा नं. ७ र गोरखाबासीमा परेको बज्रताप भएको बताएका छन् । उनले भनेका छन्, ‘ज्यादै नराम्रो घटना घट्यो, परिवार नै तहसनहस भयो ।’

प्रतिक्रिया