

कांग्रेसले संसदमा सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निभाउँछः सभापति देउवा

नेपालगन्ज – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले संसदमा सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने बताएका छन्।
नेपालगन्ज विमानस्थलमा आज स्वागतका लागि पुगेका अगुवा नेता कार्यकर्तालाई सभापति देउवाले काग्रेसले जनताका मुद्दालाई केन्द्रमा राखेर काम गर्ने बताए। उनले संसदमा सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने स्पष्ट पारे।
उनले पार्टी सङ्गठन मजबुत बनाउन गाउँ-गाउँमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिए। सभापति देउवाले सङ्गठन निर्माण, विस्तार र सुदृढीकरणमा लाग्न निर्देशन दिए। उनले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जनअपेक्षा अनुरुप काम गर्न आग्रह गर्दै सुशासन र समृद्धि हासिल गर्ने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिए।
सभापति देउवा नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको दाङ अमिलिया चोकस्थित पूर्ण कदको शालिक अनावरणका लागि नेपालगन्ज पुगेका हुन्। सभापति देउवासँगै सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, केन्द्रीय सदस्य दीपक गिरी लगायत नेता छन्।

