

डडेल्धुराको नवदुर्गाकी उपाध्यक्ष निर्मलाविरुद्ध वनमा उजुरी, पती गणेशसहित देवरले काठ काटेको आरोप

डडेल्धुरा- डडेल्धुराको नवदुर्गा गाउँपालिकाकी उपाध्यक्ष निर्मला बोगटीसहित उनका पती गणेशबहादुर बिष्ट र देवर दिनेश बिष्टको नाममा डिभिजन वन कार्यालयमा उजुरी परेको छ । उनका पती अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हुन् ।
उपाध्यक्ष बोगटी परिवारले नवदुर्गा गाउँपालिका–४ गिल्लेमा अवैध रुपमा काठ काटेको भन्दै उजुरी परेको डिभिजिन वन कार्यालयका सूचना अधिकारी रणेन्द्र सिंहले जानकारी दिए ।
उजुरीपछि डिभिजन वन कार्यालय डडेल्धुराले ४ गोलीया चिरान काठ १ सय ४४ थान सल्लाको, गोलीया १ थान, चिरान १ सय ५५ थान सालको काठ बरामद समेत गरेको छ । सामुदायिक वन वा निजी वनमा रहेको काठ काट्न वन कार्यालयले टाँचा लगाएर अनुमति दिनुपर्ने व्यवस्था भएपनि विना प्रक्रिया रूख कटान गरेको बिष्ट परिवारमाथि आरोप छ ।
गाउँपालिका उपाध्यक्ष परिवारले सरकारी डोजर प्रयोग गरि नयाँ सडक काटेर काठ निकासा गर्न लागेको उजुरीमा उल्लेख छ । इमेलमार्फत उजुरी चैत ११ गते परेको भएपनि काठ भने केही समय अगाडि नै काटिएको बुझिएको छ ।
उजुरीपछि अनुसन्धान भइरहेको सूचना अधिकारी सिंहले जानकारी दिए । डिभिजन वन कार्यालय डडेल्धुराले गन्यापधुरा सव डिभिजन प्रमुख महेश घर्तीमगरलाई छानविन तथा अनुसन्धानका लागि खटाएको छ ।
उता उपाध्यक्ष बोगटीले भने आफ्नो निजी जग्गाको काठ काटेको दाबी गरेकी छन् । उनले भूकम्पले भत्केको घर निमार्णका लागि निजी जमिनमा रहेको काठ काटेको बताइन्।

