

प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न आदेश दिएको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका प्रसाईँका दुई जना अङ्गरक्षकलाई रिहा गर्न आदेश दिएको हो ।
प्रसाईँका अङ्गरक्षकद्धय रामकुमार धिमाल र दीपक खड्कालाई चैत ५ गते सर्वोच्च अदालतबाट पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट हतियार, १ सय राउण्ड गोली बरामद गरेको थियो ।
लाइसेन्स सहितको हतियार बोक्दा प्रहरीले पक्राउ गरेका भन्दै उनीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।

