

३ वर्षअघि पनि टिकटक बनाउन कर्णाली पुलबाट हामफालेका थिए सञ्जयले, हिजाे लोकेन्द्रले त्यस्तै गरे

काठमाडाैं- ३ वर्षअघि २०७७ चैत २८ गते कैलालीको लम्कीचुहा नगरपालिका–२ का १८ वर्षीय सञ्जय खड्का टिकटक बनाउन कर्णाली पुल पुगेका थिए । उनीसँगै कक्षा १० मा पढ्ने ८ जना युवा थिए । तर, ३ जनाले नदिमा हाम फालेका थिए ।
तीमध्ये खड्का कर्णाली नदीमा बेपत्ता भए भने उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ का १८ वर्षीय लोकेश प्याकुरेल र १७ वर्षीय वीरेन्द्र सिंहलाई सकुशल उद्दार गरिएको थियो ।
ज्यान जोखिममा राखेर टिकटकमा भाइरल हुन उनीहरूले कर्णालीको पुलबाट नदीमा हाम फालेका थिए ।
अस्ति सोमबार पनि सोही प्रकृतिको घटना दाेहाेरिएकाे छ । कर्णाली पुलबाट पालैपालो हामफालेका १७ जना युवामध्य एक जना बेपता भए ।
होली मनाउन पुलमा जम्मा भएको सयौँ जनाको भीडबीच १७ जना पालैपालो कर्णालीमा हामफालेर फालेका थिए। त्यसरी हामफालेर कर्णालीमा हेलिएकामध्ये एकजना युवक अहिले बेपत्ता भएका छन् । लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका हुन् ।
कर्णालीको पुलमाथि वारिपारि जम्मा भएर हेरिरहेकाहरू ती युवक डुबिरहेको देखेका थिए । तत्कालै किनारमा रहेका दुईवटा डुंगा ती युवकको खोजीमा नदीमा हेलिए। तर डुबिसकेका ती युवकलाई डुंगा चालकहरूले भेट्टाउन सकेनन्।
इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरीराम डाँगीले शाहीकाे खाेजी कार्य भइरहेको बताए । उनका अनुसार साेमबार दिउँसो माथिल्लो शरीरको कपडा फुकालेर सडकमा हिडिरहेका युवाकाे उक्त समूहलाई प्रहरीले कर्णाली पुल वारी नै राेक्न खाेजेकाे थियो तर सामूहिक रूपमा तस्बिर खिच्ने भन्दै जबरजस्ती उनीहरू अघि बढेका थिए ।
‘शाही सहितको टोलीलाई डिउटीमा रहेका प्रहरीले रोक्न खोजेको रहेछ । तर साथीभाई धेरैपछि भेटिएकोले पुलमा फोटो खिचेर फर्किन्छौँ भनी जबरजस्ती गरि अघि बढ्नुभएछ ’ उनले भने ।
शाहीको आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
स्थानीयका अनुसार ज्यान जोखिममा राखेर अहिले सामाजिक सञ्चालजमा भाइरल बन्नका लागि कर्णालीको पुलबाट नदीमा युवाहरू हाम फाल्ने गरेका छन् ।
प्रहरीले दैनिक रूपमा युवाहरूलाई सम्झाउँदै आएको छ । तर, अटेरी गर्दै युवाहरूले ज्यान नै जोखिममा राखेर पुलबाट कर्णालीमा हाम फाल्ने गरेका छन् ।

