यूएईमा १९ नेपाली अलपत्र पार्ने मेनपावरलाई कारबाही हुँदै


काठमाडाैं- मेची इन्टरनेशनल ओभरसिज प्रालि, काठमाडौंले १९ जना नेपालीलाई संयुक्त अरब इमिरेट्स (यूएई) पठाएर अलपत्र पारेपछि नेपाली दूतावासले कारबाहीबो प्रक्रिया अघि बढाएको छ ।

मेची इन्टरनेशनल ओभरसिज प्रालि, काठमाडौंलाई कारबाहीका लागि दूतावासले वैदेशिक रोजगार विभागलाई पत्राचार गरेको हो ।
‘नेपाली श्रमिकहरू समस्यामा परेको थाहा भएपछि समस्य सामाधान गर्न दूतावासले कम्पनी र मेनपावर एजेन्सीसँग सम्पर्क गर्दा हप्ता दिनभित्र समस्या सामाधान गर्ने प्रतिबद्धता जनाएका थिए,’ श्रम सहचारी आविद अंसारीले लेखेको पत्रमा भनिएको छ, ‘तर अहिले पनि समस्या जस्ताको त्यस्तै रहेको तथा समस्या सामाधानका लागि कुनै पनि पहल नगरेको देखिएकोले मेनपावर तथा कम्पनीलाई आवश्यक कारबाही हुन आदेशानुसार अनुरोध छ ।’

मेची इन्टरनेशनल ओभरसिजका एजेन्टले नेपाली युवालाई क्लिनरको कामका लागि यूएईको नूर अल अफ्सा क्लिनिङ सर्भिसेस इस्ट र युनिक स्टार जेनेरल सेक्युरिटी गार्ड सर्भिसेजमा पठाएको तर कामदार करारनामा अनुसारको काम, तलब र सेवा सुविधा नपाउँदा नेपाली कामदार अलपत्र परेका थिए ।

खोटाङ जन्तेढुंगा गाउँपालिका-५ चिसापानीका पर्शुराम राई र राजकुमार राई, सुर्खेतका भविष्य जिसी, पाल्पा तिनाउका देवसिं सुनारी, नवलपरासीका सुनिल श्रेष्ठ, दैलेखका मनबहादुर शाही, धादिङका तिलकबहादुर सुनार, कपिलवस्तुका मनोज थारू, उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मुसिकोटका हिमाल सरतुंगे, कालीकोटका जितेन्द्र शाही, मोरङका करन सरदार, तेह्रथुमका लक्ष्मीप्रसाद दुलाल, झापाका मिश्रीलाल दास, सिन्धुपाल्चोकका खड्कबहादुर श्रेष्ठ, उदयपुरका मानबहादुर कार्की, गोरखाका आशबहादुर गुरुङ, मोरङका पदम नेपाल र नुवाकोटका लाक्पा तामाङ अलपत्र परेका थिए ।

प्रतिक्रिया