

रंगशाला निर्माण अभियानमा कामदारको उच्च साथ, निर्माणस्थलमै दशैं मनाउँदै १५० कामदार

चितवन – चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा दशैंका क्रममा पनि काम नरोकिने भएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको देशव्यापी लकडाउनको अवधीमा समेत निर्माण कार्य रोकिएको थिएन ।
सरकारले चैत ११ देखि लकडाउनको आह्वान गरेको थियो । धुर्मुस सुन्तली फाउन्डेसनले बैशाखको २० गतेदेखि ३० जना कामदारबाट निर्माणको काम पुनः सुरु गरेको हो । साउनदेखि करिव २ सय जना र अहिले २ सय ३३ जना मजदुर कार्यरत छन् र दैनिक काम भइरहेको छ ।
दशैंको समयमा करिव १ सय ५० जना कामदारसहित निर्माणकार्य जारी राख्ने फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए । उनका अनुसार कामदारको चाहनाअनुसार नै दशैंमा काम नरोकिएको हो । उनले प्रतिकुल समयमा त रंगशालाको काम नरोकिएकोले दशैं, तिहार उत्सव भएकोले रंगशाला बनाएर नै पर्व मनाउने बताए ।
‘हामीसँग भएका कामदारमध्ये कतिपय दशैंका लागि घर जानुहुन्छ । अहिलेको परिस्थिति र निर्माणकार्यको अवस्थालाई मध्यनजर राख्दै सबैस“ग प्रतिक्रिया माग्दा धेरैजसोले रंगशाला उभ्याएर मात्रै घर जाने र आफूहरूका लागि यही नै चाडपर्व भएको बताएपछि काम सन्चालन गर्न लागिएको हो,’ कट्टेलले भने ।
रंगशालामा काम गर्ने सबै मजदुर तथा कर्मचारीहरूलाई टीका लगाएर यहीँ दशैं मनाउने धुर्मसले बताए ।
गत वर्षको मंसिर १ देखि मुख्य रंगशाला निर्माणको काम सुरू भएको हो । सुरुआतमा २२ लाख लिटरको ड्रेन निर्माण र प्यारापिटको पिल्लरको फाउन्डसेन तयार गर्न फागुनसम्मको समय लाग्यो । चैत महिना लकडाउनका कारण काम सन्चालन हुन नसके पनि बैशाखयता रंगशालाको पूर्व (स्टान्ड बी) र पश्चिम (स्टान्ड ए) मोहडामा रहने प्यारापिटको काम सुरु गरिएको हो । यो प्यारापिट ३० हजार दर्शक क्षमताको हुनेछ ।
रंगशालाको ३ सय ६० वटा पिल्लरमध्ये २ सय वटा पिल्लर ठड्याइसकिएको छ । स्टान्ड ए मा सबै पिल्लर (१ सय ३५ वटा) राखिसकिएको छ । यहाँ ढुंगाको वालको काम सुरु भएको छ । स्टान्ड बीमा ६५ वटा पिल्लर उठेको छ र बा“कीको काम अन्तिम चरणमा पुगेको छ ।

परियोजना व्यवस्थापक जनार्दन शर्माका अनुसार रंगशालाको दुई स्टान्डको जगको ढलानमा ६० प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै टाइवीमको काम १३ प्रतिशत सकिएको छ । मैदानको काम यसअघि नै ८५ प्रतिशत सम्पन्न भइसकेको छ ।
कोरोना भाइरसको बढ्दो संक्रमण, आवश्यक मालसामाग्रीहरुको अभाव, कामदारहरुको समस्या, बर्खा र निरन्तरको झरीका बावदुत पनि रंगशालाको काम अघि बढाइएको फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए ।
‘कोरोना भाइरसका कारण देखाउ“दै धेरैजसो विकास आयोजनाहरुको काम प्रभावित भएका छन्, तर यो राष्ट्रिय गौरवको परियोजनामा भने निरन्तर काम भैरहेको छ’ कट्टेलले भने ।

