के आधारमा छुटे महरा ? यी हुन् हाजिर जमानीका प्रमुख ३ कारण


काठमाडौं — सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएको अधिकारीहरूले बताएका छन्।

काठमाण्डू जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएलगत्तै महरालाई हिरासत मुक्त गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

‘कृष्णबहादुर महराजीलाई उहाँका छोरा (निर्मल महरा)को जिम्मा लगाएर हाजिर जमानीमा छोडिएको छ,’ बोगटीले भने।

प्रहरीले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि महरालाई सोमवार पक्राउ गरेको थियो। तर स्वास्थ्यका कारण देखाउँदै उनी सोही दिनदेखि अस्पताल भर्ना भएका थिए।

उनलाई जमानीमा छोड्ने अनुमति दिइनुअघि प्रहरी र सरकारी वकिलको कार्यालयले महराँग सुन तस्करीको अभियोगबारे बयान लिएको थियो।

यसअघि काठमाण्डू जिल्ला अदालतले महरालाई चार दिन अस्पतालमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

 

हाजिर जमानी के हो ? 
मुलुकी फौजदारी कार्यविधि संहिताले निश्चित अवस्थामा फौजदारी अभियोग लागेका व्यक्तिहरूलाई हाजिरी जमानीमा हिरासतमुक्त गर्न सक्ने अधिकार सरकारी वकिलको कार्यालयलाई दिएको छ।

कुनै व्यक्तिलाई अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नदेखिएको कतिपय अवस्थामा सरकारी वकिलको अनुमति नलिई पनि प्रहरीले जमानीमा छाड्न सक्छ।

यसरी छोडिएको व्यक्तिलाई मुद्दा चलाउनुपर्ने अवस्थामा उपस्थित हुने कागज गराइएको हुन्छ।

 

महरा किन हाजिर जमानीमा छुटे ?

काठमाण्डू जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख सन्देश श्रेष्ठले महरालाई तीनवटा कारण देखाउँदै हाजिर जमानीमा छाड्न अनुमति दिइएको जानकारी दिएका छन्।

‘यसअघि अदालतले नै उहाँको स्वास्थ्यस्थितिका कारण अस्पतालमा राख्न भनेको थियो। त्यसैले स्वास्थ्यका कारण, बयान लिइसकिएको अवस्था र उहाँको उमेरलाई समेत ध्यानमा राखेर सीआईबीको मागबमोजिम हामीले हाजिर जमानीमा छोड्न अनुमति दिएका छौँ,’ श्रेष्ठले भने।

महरा अहिले ६५ वर्षका भए। उनी क्षयरोग, युरिक एसिड र प्रोस्ट्रेट ग्रन्थीको समस्याबाट पीडित भएको दाबी गरिएको थियो। -बिबिसी

प्रतिक्रिया