सुन तस्करीमा आफ्नो संलग्नता नरहेको महराको बयान


काठमाडौँ – पक्राउ परेका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्ननता नरहेको बताएका छन् ।

आज (बिहीबार) सरकारी वकिल कार्यालयमा भएको बयानमा उनले सुन तस्करसँगको संलग्नता अस्वीकार गरेका हुन् । कार्यालय स्रोतका अनुसार उनले बयानमा आफूमाथि राजनीति भएको बताएका छन् ।

उनले बयानमा भनेका छन्, “म नेता हो विभिन्न मान्छेसँग मेरो फोन सम्पर्क हुन्छ । त्यही शिलशिलामा चिनियाँहरूसँग पनि भएको हो । उनीहरूले सुन तस्कर गर्छ भन्ने मलाई कुनै पूर्वजानकारी छैन ।”

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेका महरालाई हिजो पनि बयान लिइएको थियो । एक चरणको बयानको काम सकिएको र अब थप आवश्यक प्रक्रिया सीआईबीले अघि बढाउने सरकारी वकिल कार्यालयका एक अधिकृतले बताएका छन् ।

महरा यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका थिए । महरालाई काठमाडौँ जिल्ला अदालतले चार दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको छ । अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंले महरालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो । प्रहरीले महरालाई हिरासतमा राख्न थप म्याद नथप्ने देखिएको छ । उनलाई हाजिरी जमानीमा छोड्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । ‘स्वास्थ्यलाई समेत ख्याल गरेर भोलि हाजिरी जमानीमा छोड्ने तयारी भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो ।

गत साउन २ मा ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उनको नाम जोडिएको छ । त्यसबेला सीआइबीले उनलाई बयान कागज गरेर मात्रै छाडेको थियो । यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षमा थुनामा छन् ।

प्रतिक्रिया