

दबाब र प्रभावमा नपर्न नवनियुक्त सिडिओलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
उपप्रधान एवं गृहमन्त्री लामिछानेले गृह मन्त्रालयमा केही दिनअघि सरुवा भएका प्रमुख जिल्ला अधिकारीलगायतका कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।
अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयमा चैत्र ६ गते उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा भएको थियो । जिम्मेवारी सम्हाल्न दिनुअघि उनीहरूलाई गृहमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
‘राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुस् । आज्ञापालक होइन, सृजनशील प्रशासक बन्नुस्,’ उनले भने, ‘नागरिकबाट मान सम्मान खोज्ने होइन, उनीहरूलाई गर्नुस् । औपचारिक कार्यक्रममा धेरै समय बर्बाद नगर्नुस् । जिम्मेवारी दिँदा नै ‘सक्दिन’ भन्नुस्, लिएपछि नभाग्नुस् ।’ गृहमन्त्री लामिछानेले नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानूनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न निर्देशन दिए । ‘सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्छ । आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्त्वको सञ्जाल तोड्नुस्, तिनका सहयोगी बन्ने होइन ।’
सेवा प्रवाहमा तत्काल सुधार, गुण्डागर्दी, तस्करी, राजस्व चुहावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्न उनको निर्देशन छ ।

