

आफूले राष्ट्रपति नजिते देशमा ‘रक्तपात’ हुने ट्रम्पको चेतावनी

एजेन्सी – अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा आफूले नजिते देशमा ‘रक्तपात’ हुने चेतावनी दिएका छन् ।
ओहायोको डेटनमा एक र्यालीमा सम्बोधन गर्दै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ‘रिम्याच’ हुँदैछ।
ट्रम्पले भने, ‘यदि अहिले मैले चुनावमा जितिन भने यहाँ रक्तपात हुनेछ । कम्तीमा यही हुनेछ । रक्तपात देशका लागि हुन लागेको छ ।’
तर अहिलेसम्म ट्रम्पको यो भनाइको आशय के हो भन्ने स्पष्ट भएको छैन । यो चेतावनी दिइरहेको समयमा उनले अटो उद्योगबारे गुनासो गरिरहेका थिए । भीडलाई सम्बोधन गर्दै ट्रम्पले आफू पुनः निर्वाचित भए चीनबाट अमेरिकामा आयात गरिएका कुनै पनि गाडी बेच्न नसक्ने बताएका थिए ।

