

दिनेश सुनारले पाँचौ पटक गिनिज बुकमा नाम लेखाउन गरे पार्कर खेलको नयाँ एटेम्प्ट

काठमाडौं– पार्कर खेलाडी दिनेश सुनारले पाँचौ पटक गिनिज बुकमा नाम लेखाउनका लागि नयाँ एटेम्प्ट गरेका छन्।
आइतबार सनसाइन तेक्वान्दो एकेडेमीको प्रायोजनमा अमेरिकाको ओहियो आक्रोनमा सुनारले ‘दी मस्ट स्ट्यान्डिङ फूल ट्विस्ट ब्याक समरसल्ट इन ३० सेकेन्ड’का लागि नयाँ विश्व रेकर्ड एटेम्प्ट गरेका हुन्।
नेपालको खोटाङमा जन्मिएर सुरक्षा निकाय अन्तर्गत सशस्त्र प्रहरी बलमा केही बर्ष सेवा गरेका उनी खेलप्रति रुची राख्ने पार्कर खेलाडी हुन्। सुनारले यसअघि पार्करकै अन्य विविध विधामा चार पटक विश्व रेकर्ड कायम गरिसकेका छन्।
उनले नयाँ रेकर्डका लागि ३० सेकेन्डमा १३ पटकसम्म ट्विस्ट ब्याक समरसल्ट गरिदिए जुन अहिलेसम्म विश्वमा कसैले प्रयत्न नै कठिन छ। रेकर्डका लागि ८ पटकसम्म गर्दा मात्रै पनि पुग्ने प्रावधान छ।
कार्यक्रममा ग्रेटर एक्रोन, अमेरिकास्थित हिन्दु सेवा समितिका अध्यक्ष महानन्द लुइँटेल, भुटानी कम्युनिटी एशोसिएसन अफ एक्रोनका अध्यक्ष मनोरथ खनाल, उपाध्यक्ष आका खतिवडा र सनसाइनका प्रोपाइटर कौशिला खनाल कर्माचार्यलगायको उपस्थिति रहेको थियो।
‘जहाँ भए पनि देशको नाम उँचो राख्नका लागि रेकर्डको प्रयत्न गर्दै आएको छु। प्रमाणपत्र आएको दिन ममात्र होइन, मुलुककै नाम गिनिज बुकमा अर्को पटक लेखिनेछ’, सुनार भन्छन्।
यहि खेलका माध्यमले नाम कमाएका उनी यसअघि विश्व चर्चित कार्यक्रम ‘अमेरिका गट्स ट्यालेन्ट’मा पनि सहभागी भएका थिए। त्यसअघि विश्व प्रसिद्ध पार्करहरूसँग अमेरिकामा तालिम समेत लिन भ्याएका सुनार भन्छन्,‘जीवनमा नाम लेखाउने त प्रक्रिया हो तर नाम अविश्मरणीय राख्ने रहरचाहिँ व्याप्त छ।’

