

कैलालीमा दुई प्रहरीले कुटे ट्रकका सहचालक

कैलाली- कैलालीको खानीडाँडामा दुई जना प्रहरीले ट्रकका सहचालकमाथि कुटपिट गरेका छन् ।
अस्थायी प्रहरी पोष्ट खानीडाँडाका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) मिनबहादुर रावतले ट्रकका सहचालक रोशन बिष्टमाथि कुटपिट गरेका हुन् ।
रावतले केहीदिन अगाडि खानीडाँडामा राति ११ बजेतिर ट्रक इन्ट्री गर्ने क्रममा बिष्टमाथि कुटपिट गरेको बुझिएको छ । असई रावतलाई बर्दीमै रहेका प्रहरी हवल्दार लक्ष्मण सार्कीले पनि सघाएका थिए ।
स्रोतकाअनुसार ट्राफिक प्रहरी हुँ भन्दै सादा पोशाकमा आएर ट्रकमा ओभर लोड रहेकाले जरिवाना काट्न भनेको थिए । तर सहचालक बिष्टले ‘प्रहरी भए बर्दी खै ?’ भनेपछि उनीमाथि कुटपिट भएको बुझिएको छ ।
असई रावतले बिष्टसँग उक्त राति समान्य वादविवाद भएको स्वीकार गरेका छन् । सो क्रममा आवेगमा आएर गल्तीबस हातपात भएको उनको भनाई थियो । तर, भोलिपल्ट नै विवाद मिलिसकेको रावतको दाबी छ ।

