दक्षिण कोरियामा दक्ष जनशक्ति पठाउने तयारी


काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियाको ई–७ भिसामा श्रमिक पठाउने जिम्मा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई दिने तयारी गरेको छ । मन्त्रालयले ई–७ भिसा हाल सरकारबाट पठाइने इपिएस भिसाभन्दा फरक भएकाले यो जिम्मेवारी म्यानपावर कम्पनीलाई दिनुपर्ने भन्दै तयारी गरेको हो ।

श्रम मन्त्रालय ई–७ भिसा (इपिएस भिसा) भन्दा फरक भएकाले यो भिसामा नेपाली श्रमिक दक्षिण कोरिया पठाउने जिम्मा व्यवसायीलाई दिनुपर्ने अडानमा छ । सोही अडानसहितको प्रस्ताव सरकारको मन्त्रीपरिषद्मा पेस गरिसकेको छ । यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रम मन्त्रालयका प्रतिनिधिसँग गएको महिनामा भएको छलफलमा दक्षिण कोरियाको ई–७ भिसा पनि इपिएस प्रणाली जस्तै गरी पठाउने व्यवस्था गर्नु पर्छ भनेका छन् ।

त्यसो त म्यानपावर व्यवसायीहरूको साझा संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले ई–७ भिसा इपिएस प्रणालीभन्दा फरक भएको र यो प्रणालीमा आफूहरूले श्रमिक पठाउन पाउनुपर्ने माग गर्दै आएको छ । यता श्रम मन्त्रालय पनि ई–७ मा अन्य देशले पनि श्रमिक पठाउने जिम्मा म्यानपावर व्यवसायीलाई नै दिएकाले नेपालले पनि दिनु पर्छ भन्ने पक्षमा वकालत गर्दै आएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता राजीव पोखरेलले ई–७ भिसा र इपिएस भिसा फरक भएकाले ई–७ भिसामा पठाउने अधिकार व्यवसायीलाई दिन उपयुक्त हुने बताए । उनले भने, ‘ई–७ भिसामा दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्ति पठाउने जिम्मेवारी म्यानपावरलाई दिने अन्तिम निर्णय नेपाल सरकार मन्त्रीपरिषद्मा पठाइसकेका छौँ, त्यस विषयमा वर्तमान प्रधानमन्त्रीले पनि बुझिसक्नु भएकाले परित भएर आउने छ ।’

प्रवक्ता पोखरेलले कोरियाको ई–७ भिसा कमाइ तथा सेवा सुविधाका हिसाबले श्रमिकका लागि निकै राम्रो भएका कारण यो भिसामा जतिसक्दो ठुलो सङ्ख्यामा श्रमिक पठाउन सरकारले पहल गर्ने बताए । उनका अनुसार ई–७ भिसा इपिएसभन्दा फरक हो । कोरियाले निजी क्षेत्र (बिटुबी) मार्फत यो भिसामा श्रमिक लैजान्छ । यसबारे हामी प्रधानमन्त्रीसँग पनि छलफल गरिसकेका छौँ । -गोरखापत्र दैनिक

 

प्रतिक्रिया