प्रसूति गृहबाट बालिका चोरी गर्ने २ पक्राउ, बच्चाको काँडाघारीबाट उद्धार


काठमाडौं – काठमाडौंको थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट चोरिएकी बालिका फेला परेकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २६ दिने बालिकालाई काठमाडौँको काँडाघारीबाट शुक्रबार राति ११:४५ मा उद्धार गरेको हो ।

बच्चा चोरीमा संलग्न आरोपमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । बच्चा चोर्ने महिला दैलेखकी मनिषा सिंह रहेको खुलेको छ । उनीसँगै उनकी दिदीलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ । काँडाघारी स्थित डेराबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतले जनाएको छ । बालिकालाई उद्धार गरेर उपचारको लागि अस्पतालमा राखिएको छ ।

बच्चा नभएकाले चोरी गरेको ती महिलाले प्रहरीसमक्ष स्वीकार गरेकी छन् । प्रहरी स्रोत भन्छ, ‘ती महिलाले आफू सुत्केरी भएको भनेर घर परिवारलाई भनेकी रहेछिन् ।’ आरोपीहरूबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन् । ‘सहयोग’को बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले प्रहरीलाई बताएकी छन् । अस्पतालमा अपरिचित महिलाले ‘एकछिन म लिइदिन्छु’ भनेर बालिका लिएर फरार भएपछि पीडितले अस्थायी प्रहरी बिट थापाथलीमा खबर गरेपछि प्रहरीले खोजी थालेको थियो ।

बच्चा हराएको खबर प्राप्त हुन साथ जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खोजीमा खटिएको थियो । सिसिटिभीमा देखिएको हुलिया अनुसार रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको देखिएको थियो ।

प्रतिक्रिया