दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बस्दै छ ।

नेकपा दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपाको नाम विवादमा फैसला गर्दै ऋषी कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको छ । साथै केपी शर्मा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रलाईसमेत व्युँताइदिएको छ ।

यो फैसलालाई दाहाल-नेपाल समूहले निवेदकको माग दाबीभन्दा बाहिर गएर रिट जारी गरिएको भन्दै विरोध जनाएको छ ।दाहाल-नेपाल समूहका नेता जनार्दन शर्माले सर्वोच्चको फैसला न्यायिक नभइ राजनीतिक भएको टिप्पणी गरे । अब कानुनका जानकार र पार्टीभित्र छलफल गरेर कसरी अघि बढ्ने भनेर एउटा टुंगोमा पुग्ने उनले बताए ।

सो समूहले सर्वोच्चको फैसलापछिको अवस्थाबारे कानून व्यवसायीसँग आइतबार नै छलफल गरेको थियो । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको सहभागिता थियो ।

प्रतिक्रिया