

कांग्रेस प्रतिवेदनमा सञ्चार क्षेत्रका विषय नसमेटिनु दुःखद : अध्यक्ष लम्साल

काठमाडाैं- नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसको महासमिति बैठकमा सञ्चार क्षेत्रलाई समेट्ने गरेर कुनै पनि प्रस्ताव नआउनु दुःखद भएको बताएका छन् ।
प्रेस युनियनका तर्फबाट महासमिति सदस्य चयन भएका अध्यक्ष लम्सालले बैठकमा बुधबार आफ्नो धारणा राख्दै सञ्चार क्षेत्रले जताततै चुनौति भोग्दै गरेको अवस्थालाई कांग्रेसको महासमिति बैठकमा प्रस्तुत कुनै पनि प्रतिवेदनमा समावेश नगरिनु दुःखद भएको बताएका हुन् ।
‘प्रेस, न्यू मिडिया, पत्रकारिता जगतले भोग्दै गरेका चुनौतिबारे महासमिति बैठकमा कुनैपनि प्रतिवेदनमा केही आएन, कांग्रेस जस्तो लोकतान्त्रिक दलले संचार क्षेत्रको विषयमा केही नबोल्नु दुःखद छ’ लम्सालले भने ।
उनले कांग्रेसलाई गुट बनाउन र आफ्न्नो मान्छे बनाउन बाहेक अन्य परिणाममुखी काम गर्न फुर्सद नभएको भन्दै कांग्रेसले आफुलाई बलियो बनाउन सबै तहका नेताहरु सुध्रिनुपर्ने बताए ।
लम्सालले पार्टीबाट निर्वाचित बनेका नेताहरुमा भ्रष्टचारको गन्ध बढ्दै गएको भन्दै गठबन्धनका कारणसमेत धेरै क्षेत्रमा कांग्रेसीहरुले अवसर गुमाउनु परेको बताए ।
महाससमिति बैठकमा धारणा राख्दै महासमिति सदस्य तथा अग्रज पत्रकार तारानाथ दाहालले दुई महामन्त्रीले पेश गरेको प्रतिवेदनलाई परिमार्जनसहित बैठकले पारित गर्दा महासमितिमा आएका शब्दको थुप्रोलाई व्यवस्थित गर्न सकिने धारणा राखेका थिए ।

