
आईसीसी विश्व क्रिकेट लिग-२ः नेपाललाई नामिबियाविरूद्ध बदला लिने अवसर
काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग टु मा नेपालले आज नामिबियासँग दोस्रो खेल खेल्दैछ।
यी दुई बीचको खेल विहान सवा ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। आजको खेलमा नेपालले नामिबियाविरुद्ध जितको खोजीमा हुँदा नामिबिया पनि नेपालमाथिको दबदबा कायमै राख्न चाहन्छ।
यी दुई टोलीबीच भएको लिग टु को पहिलो खेलमा नामिबिया चार विकेटले विजयी भएको थियो। नेपालले नेदरल्याण्डलाई ९ विकेटले हराएको थियो। नामिबिया भने नेदरल्याण्डसँग पराजित भएको छ। नेदरल्याण्ड्सले नामिबियाविरुद्ध ७ विकेटको सहज जित निकाल्यो।
काठमाडौंमा जारी आईसीसी विश्व क्रिकेट लिग टुमा त्रिवि क्रिकेट मैदानमा तीन खेल भएका छन्। तीनै खेल टस जितेर फिल्डिङ गर्ने टोलीले जिते।
कीर्तिपुर मैदानको पिच बिहानको समय ब्याटिङका लागि उपयुक्त मानिँदैन। ब्याटरलाई ओसिलो पिचमा खेल्न कठिन हुँदा त्यसको फाइदा बलरले उठाइरहेका छन्।
दिनको समयमा पिचले आफ्नो स्वभाव परिवर्तन गर्दा ब्याटरले खुलेर रन बनाइरहेको देखिन्छ। यो मैदानमा अहिलेसम्म ३१ एक दिवसीय सिरिज हुँदा अधिकांश टोलीले टस जितेर पहिले फिल्डिङ नै गरेका छन्।



कागजपत्र |
