हाम्रो आन्दोलन सामान्य ख्याल ठट्टा होइन : उपाध्यक्ष तामाङ
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष बुद्धिमान तामाङले बुधवारदेखि सुरु हुने देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनका लागि गरिन लागेको बताएका छन् । मंंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले राप्रपाको आन्दोलनलाई ख्यालठट्टा नठान्न आग्रह गरे ।
‘यो आन्दोलन सामान्य ख्याल ठट्टाको आन्दोलन होइन । यो सरकार परिवर्तन गर्ने, महँगीको विरोध गर्ने, केके विरोध गर्ने होइन । हामीले व्यवस्था र अवस्था परिवर्तन गर्ने आन्दोलन हो’ उनले भने, ‘सबैले यसमा सोचेर अघि बढ्नुपर्छ । यो आन्दोलन शान्तिपूर्ण आन्दोलन हो । हामी भद्र आन्दोलन गर्ने हो ।’
यस्तै पार्टीका सांसद धवल शमशेर जबराले आन्दोलन आफूहरुका लक्ष्य प्राप्ति भएपछि मात्रै रोकिने बताएका छन् । उनले पार्टीसँग विचारधारा मिल्ने पार्टी, समूह, अभियन्तालाई समेटेर आन्दोलन अघि बढाउने बताए ।