
शेखरको प्रश्न, ‘कांग्रेसको ७ प्रतिशत भोट किन घट्यो ?’
काठमाडौं — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको भोट घट्दै गइरहेको बताउँदै अब कसैसँग पनि गठबन्धन गर्न नहुने बताएका छन् ।
महासमिति बैठकको पूर्वसन्ध्यामा आयोजित चियापानमा उनले कांग्रेस सधैँ कम्युनिष्टहरूको पछि लागेर हिँड्ने हो ? भन्दै नेतृत्वसँग प्रश्न गरेका छन् । उनले जिल्लाका कार्यकर्ताहरुले आफूलाई सो प्रश्न गर्ने गरेको र यसको जवाफ सोमबारदेखि सुरू हुने महासमिति बैठकमा दिन ध्यानाकर्षणसमेत गराए ।
कांग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरूको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य हुनेगरी गम्भीर रूपमा छलफल हुनुपर्ने उनको भनाइ छ । जनमत घटिरहेका बेला सरकारमा बसेका छौं भनेर पार्टीले खुसी हुनुपर्ने कुनै कारण नभउको उनले दोहोर्याए । निर्वाचन प्रणालीमा सुधार ल्याउने विषयमा पनि महासमिति बैठकमा छलफल गर्नुपर्ने उनको भनाइ छ ।
नेता कोइरालाले भने, ‘ यसपटकको दस्तावेजनमा पनि के छ भने हामीले स्थानीय तहमा, प्रदेशमा र केन्द्रमा हामी सरकारमा छौं । बहुमतमा छौं चारैतिर । तर, हाम्रो भोट प्रतिशत घट्दै गइरहेको अवस्था छ । त्यो किन घट्यो ? भन्ने कुरा अत्यन्त गम्भीर छ । आज यो ठीक लाग्ला हामीलाई । के भने सरकारमा छँदैछौं भनेर ठीक लाग्ला । तर, भोलि हाम्रा सन्ततिले हामीहरूलाई सोध्ने छन् कि छैनन् भन्ने पनि हामीले बुझ्न जरुरी छ । भोट प्रतिशत ३४÷३५ प्रतिशतबाट घट्दैघट्दै २७ प्रतिशतमा आएको छ क्यारे हाम्रो । साढे ७ प्रतिशत भोट घटेको छ । यो किन घटिराखेको छ भनेर हामीले विश्लेषण गरिराखेका छैनौं । हामी के मा रमाइराखेका छौं भने केन्द्रमा सरकारको नेतृत्व त हामीले गरेको छैन । तर १० वटा मन्त्रालय त हामीसित छ । यो कुरालाई तपाईँ महासमितिका साथीहरुले अत्यन्तै गम्भिर रुपले छलफल गर्नुहोला ।’
उक्त कार्यक्रममा सहमहामन्त्री भीष्म आङ्दम्बे, केन्द्रीय सदस्यहरु बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिपक गिरी, डा. चन्द्र भण्डारी, मञ्जुु खाँण, रुपा विक, सरिता प्रसाईं, रुक्मणी कोइराला, दिनेश कोइराला, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस नेताहरू गुरु घिमिरे, भुपेन्द्रजंग शाही, रञ्जित कर्ण, देवराज चालिसे, बिनोद खनाल, मेदनी सिटौला, प्रतिष्ठानका अध्यक्ष धर्मेन्द्रबिक्रम नेम्वाङ लगायतको उपस्थिति रहेको थियो ।



कागजपत्र |
