२ जनाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको जिम्मेवार मन्त्री ज्वाला : जाँचबुझ आयोग


काठमाडौं-  ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु हुनेगरी भएको घटनाको मुख्य जिम्मेवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला भएको निष्कर्ष निकालिएको छ ।

मन्त्री, पीएसओ र अपरेसन कमाण्डर घटनामा जिम्मेवार रहेको आयोगको निष्कर्ष छ । पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले उक्त निष्कर्ष निकालेको हो ।

आयोगले शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरिसकेको छ ।

गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्ने गरी मन्त्रिपरिषदको बैठकले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो।

आयोगका अध्यक्ष पौडेलले जारी गरेको विज्ञप्तिका अनुसार आयोगले घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिससहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवं अन्यसमेत गरी २९ जनाको बयान गरेको जनाइएको छ।

इपिएस कोरिया शाखा बालकुमारी, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर, सशस्त्र प्रहरी बल, नेपाल २१ नम्बर गण दक्षिणकाली ललितपुर र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ललितपुरबाट प्रतिवेदनहरू लिइएको छ ।

उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भटाराई सदस्य रहेको आयोगले पुस २० देखि काम सुरू गरेको थियो ।

प्रतिक्रिया