

कपिलवस्तु दुर्घटनाका घाइतेको बयान– गियरको आवाज आएपछि बस नागबेली चालमा कुद्याे, त्यसपछि खोलामा खस्यो

काठमाडौं- ‘खाना खाइसकेपछि कुदेको बसमा एक्कासी गियर पड्केको जस्तो आवाज आयो । चालक आत्तिए सायद, त्यसपछि बस नागबेली चालमा यताउता गरेर गुड्न थाल्यो । अनि भित्रका यात्रु करायौं । कराउन थालेपछि चालकले बसभित्रकाे लाइट बन्द गरे । त्यसपछि बस खोलामा पुगेपछि मात्रै थाहा पायौं’ अनिल तन्डुकार भन्छन् ।
काठमाडौंको कीर्तिपुरका नगरपालिका अनिल तन्डुकार बुधबार महेन्द्रनगरबाट काठमाडौं आउन सुनौलो यातायातको प्रदेश ०२–००१ ख ००९८ नम्बरका रात्रिबस चढेका थिए ।
उनी सवार बस राति साढे १२ बजेतिर कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ सुरही खोलामा दुर्घटनामा परेको थियो ।
सडकबाट झन्डै दुई सय मिटर तल खस्दा १० यात्रुको मृत्यु भएको छ भने तण्डुकारसहित ३० जना घाइते भएका छन् । तर, उनी भने भाग्यले बाँचेका छन् । छाती र ढाडमा सामान्य चोट लागेका उनको अवस्था सामान्य रहेको छ ।
मृतक १० मध्ये ७ पुरुष र ३ महिला रहेका छन्। मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् ।
यस्तै, भीमदत्त नगरपालिका-१६ कञ्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कञ्चनपुर पुनर्वासकी विमलादेवी भट्ट, भीमदत्त-२ का सुदीप भट्ट र भीमदत्त-९ का बिसनदत्त भट्ट रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले बताए ।

