व्यापारी भन्दै कराेडाैं ठगी गर्ने चार जना पक्राउ


काठमाडौं – करोडौँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले व्यापारीको भेषमा विभिन्न बहाना बनाएर ठगी गर्ने कुमार थापासहित चार जनालाई पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्ने अन्यमा स्याङ्जाकी मीना दमै, सिन्धुलीका रवीन कुमार थापा र सप्तरीका दिलिप कुमार लाभ पक्राउ परेका हुन् । कुमार भने काभ्रेका हुन् ।

आफू सुनका गरगहना विदेशमा निर्यात गर्ने व्यापारी भएको भन्दै थापाले पोखराको विभिन्न व्यवसायीहरूसँग सुन खरिद गर्ने नाममा ठगी गरेको पाइएको उनले बताए । आफू ठगिएको थापा पाएपछि विरेन्द्र सुनारले जिल्ला प्रशासन कार्यालय कास्कीमा २ करोड बिगोको मुद्दा दर्ता  गरेका थिए । त्यसलगत्तै यसबारे सम्बन्धित निकायबाट पत्राचार भएपछि कार्यालयको टोलीले उनलाई पक्राउ गरेको रेग्मीले जानकारी दिए ।

थापालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा ठगी गर्ने कार्यमा मिना दमै, रविन कुमार थापा र दिलीप कुमार लाभको समेत संलग्नता खुलेको रेग्मीको भनाइ छ ।   भक्तपुरको सल्लाघारीबाट पक्राउ परेकी मीना दमैविरुद्ध कास्कीमा १ करोड ७० लाख ५९ हजार बिगो मागदावी भएको मुद्दा देखिएको छ ।  यस्तै उनले चितवनमा समेत १ करोड ३६ लाख ठगी गरेको देखिएको रेग्मीले बताए ।

रविन कुमार थापाले चितवन जिल्लामा ४ वटा बैङ्किङ कसुर तथा ठगी मुद्दामा २ करोड ४५ लाख ठगी गरेको देखिएको तथा काठमाडौँमा समेत ३ वटा मुद्रामा फरार रहेको देखिएको छ ।  दिलीप कुमार लाभसमेत २ वटा मुद्दामा फरार देखिएको प्रहरीको भनाइ छ । उनलाई जिल्ला अदालत काठमाडौँ पठाइएकोमा  सर्वोच्च अदालतबाट वन्दी प्रत्यक्षीकरणको रिटबाट जरिवाना दाखिला गरेको देखिँदा छाडिएको रेग्मीको भनाइ छ । अन्य दुई जनालाई भने कारबाही प्रक्रियाका लागि सम्बन्धित अदालतमा पठाइएको छ ।

 

प्रतिक्रिया