शिक्षिकाको एसएलसी तहकै प्रमाणपत्र नक्कली !


काठमाडाैं- नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा कास्कीको श्रीराम प्राथमिक विद्यालयकी शिक्षिका विन्दु गौतम शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

प्राथमिक तहको स्थायी नियुक्तिका लागि शर्माले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालत काठमाडौं मुद्दा दायर गरेको हो ।

पोखरा महानगरपालिका – ८ मा सञ्चालित विद्यालयकी शिक्षिका शर्माको शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली भएकोले छानबिनको आग्रह गर्दै आयोगमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अनुसन्धान गर्दा शर्माले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यूपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरू पेश गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त लिएको पुष्टि भएको आयोगले जनाएको छ ।​​

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

प्रतिक्रिया